काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आर्थिक विकासको गुणस्तर बढाउनुपर्ने र सेनाको क्षमता सुदृढीकरण गर्नुपर्ने बताएका छन् । बिहीबार आयोजित विशेष कार्यक्रममा उनले देशको आगामी विकास मार्गबारे आफ्नो धारणा राखेका हुन् ।
उनका अनुसार अर्थतन्त्रमा उचित परिमाणात्मक विस्तारसँगै गुणस्तरीय सुधार अपरिहार्य छ । “हामीले दृढ संकल्पका साथ उच्च गुणस्तरीय विकास अगाडि बढाउनुपर्छ, र सुखी जीवनका लागि जनताका बढ्दै गएका चाहनाहरू पूरा गर्नुपर्छ,” सीले भने । स्थायित्व कायम राख्दै समग्र सामाजिक प्रगति अघि बढाउने लक्ष्य पनि उनले दोहोर्याए ।
राष्ट्रपति सीले सशस्त्र बलमा चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण नेतृत्व कायम रहनुपर्ने कुरामा समेत जोड दिए । सेनाभित्र राजनीतिक सुदृढीकरणलाई अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ थियो । विज्ञान, प्रविधि, दक्ष जनशक्ति र कानुनी प्रणालीमार्फत सेनालाई आधुनिक र सक्षम बनाउनुपर्ने आवश्यकता उनले औंल्याए ।
यो सम्बोधन लङ मार्चको ९० औं वार्षिकोत्सवका अवसरमा दिइएको हो । सन् १९३४–३५ मा माओत्सेतुङ नेतृत्वको रेड आर्मीले प्रतिद्वन्द्वी सेनाबाट बच्न गरेको ऐतिहासिक यात्रालाई लङ मार्च भनिन्छ ।
