केप क्यानभेरल — विश्वचर्चित चित्रकार भिन्सेन्ट भ्यान गगको अमर चित्र ‘द स्टारी नाइट’ मा कोरिएको आकाश सन् १८८९ को जुलाई २२ को वास्तविक आकाशसँग मिल्ने नयाँ अध्ययनले दाबी गरेको छ। यसले उनले शुद्ध कल्पनाबाट मात्र नभई आश्रयस्थलबाट देखेको आकाशको अवलोकनबाट प्रेरणा लिएको सङ्केत गर्छ।
दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणमार्फत यो निष्कर्ष निकालेको हो। सियोलको टेलिस्कोप निर्माता कम्पनीकी प्रमुख कार्यकारी एवं क्युङ ही विश्वविद्यालयकी विद्यावारिधि शोधार्थी एलिजा जियोंग–ह्युन किमको नेतृत्वमा भएको अध्ययन ‘साइन्टिफिक रिपोट्र्स’ जर्नलमा प्रकाशित भएको छ।
अध्ययनअनुसार चित्रमा देखिने घुमाउरा तारा, अर्धचन्द्र, शुक्र ग्रह, गाउँ र अग्ला साइप्रस रूखहरू फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिने आकाशसँग मेल खान्छन्। उक्त रात चन्द्रमाको आकार चित्रसँग मिल्नुका साथै वृषभ तारामण्डलको हाइड्स तारा समूह शुक्र ग्रहसँगै पूर्वी आकाशमा उदाउने अवस्था थियो। मौसमसम्बन्धी तथ्याङ्कले पनि त्यो रात आकाश सफा रहेको देखाएको छ। किमले सन् २०१९ मा फ्रान्स पुगेरै जुन र जुलाईको आकाश तुलना गरेकी थिइन्।
यो मिति कला इतिहासकारहरूले लामो समयदेखि स्वीकार्दै आएको जुन १८८९ को मितिभन्दा करिब एक महिना पछिको हो। यद्यपि, मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्वविद्यालयका भौतिकशास्त्री जोस लुइस एरागोनले जुलाई २२ लाई निश्चित मिति मान्नुभन्दा चाखलाग्दो परिकल्पनाका रूपमा लिनुपर्ने बताएका छन्।
पत्राचारको विश्लेषणले भ्यान गगलाई जुलाईको अन्त्यतिर अचानक स्वास्थ्य समस्या देखिएको र सिकाडा कीराको उल्लेखले पनि उक्त समय जुलाई भएको सङ्केत गरेको अध्ययनले जनाएको छ। न्युयोर्कको आधुनिक कलाको सङ्ग्रहालयमा राखिएको उक्त चित्र किमले अझै प्रत्यक्ष हेर्न पाएकी छैनन् र अनुसन्धानपत्र प्रकाशनपछि त्यो हेर्ने उनको इच्छा छ।
