कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशका लागि अवसर र चुनौती दुवैका रूपमा लिनुपर्ने बताएका छन् । आइतबार सुर्खेतमा प्रतियोगिताको तयारीबारे बसोबास व्यवस्थापन उपसमितिले आयोजना गरेको छलफलमा उनले सबै सरोकारवाला मिलेर चुनौतीलाई अवसरमा बदल्नुपर्नेमा जोड दिए ।
प्रतियोगिताको आयोजक संघीय सरकार भए पनि यो कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहोस् भनेर सबै निकायबीच समन्वय हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ थियो । खेलकुदको व्यवस्थापन प्रदेश सरकार, परिषद् वा सरकारी निकाय एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको उत्तिकै सहयोग र सहकार्य आवश्यक रहेको उनले औँल्याए ।
उनले प्रदेश खेलकुद विकास परिषद्लाई उत्कृष्ट खेलाडी छनोट गरेर पदक जित्ने तयारीमा जुट्न आग्रह गरे । राम्रा खेलाडी निष्पक्ष रूपमा छनोट गर्न, राम्रा प्रशिक्षक ल्याउन र पदक जित्ने तयारीमा लाग्न उनले परिषद्लाई सुझाव दिए । खेलाडीले मागेको भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार रहेको भन्दै उनले बजेटको कुनै समस्या नहुने आश्वासन दिए ।
सोही कार्यक्रममा सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक काम गरेको बताए ।
