घोराही — दसैँ नजिकिँदै गर्दा दाङका थारू बस्तीहरूमा परम्परागत सख्या पैयाँ नाचको रमझम बढेको छ। दसैँ आउन दुई साताअघिदेखि बडादसैँ नघुम्दासम्म गाउँमा सामूहिक रूपमा सख्या पैयाँ नाच्ने चलन यहाँ रहेको छ।
घोराही उपमहानगरपालिका–१७ ओखरामा असोज १२ गतेदेखि नै नाच सुरु भएको स्थानीय रामप्रसाद चौधरीले बताए। जिल्लाका अन्य थारू बस्तीमा कतिपयले नाच थालिसकेका छन् भने कतिपयले तयारी गरिरहेका छन्।
सख्या नाच थारू समुदायको मात्रै मौलिक र सबैभन्दा लामो समयसम्म नाचिने नाच हो। चौधरीका अनुसार यो नाच हरेक वर्ष दसैँअघि कृष्णअष्टमी अटवारी पर्वपछि सुरु भएर तिहारसम्म नाचिन्छ। नाचमा महिलाहरू दुई समूहमा बाँडिएर नाच्छन् भने मादल बजाउने पुरुषहरू हुन्छन्। साँझ ६–७ बजेदेखि राति १०–११ बजेसम्म बरघर अर्थात् गाउँका मुखियाको आँगनमा नाच्ने परम्परा रहेको स्थानीय लक्षिमा चौधरीले बताइन्।
थारू अगुवा बुद्धि चौधरीका अनुसार नाच सुरु हुनुअघि अगुवा र पछुवा मादलेले देवीदेवतालाई सम्झँदै विशेष तालमा मादल बजाउनुपर्छ, जसलाई ‘झ्वाङ मर्ना’ वा ‘ट्रासन मर्ना’ भनिन्छ। त्यसपछि युवायुवती र महिला सबै मादलको तालमा नाच्न थाल्छन्।
तर पछिल्लो समय परम्परागत विधि पूरा नगरी नाच्न थालिएको र मौलिकतासँग जोडिएको यो नाचमा नयाँ पुस्ता अग्रसर नदेखिएको चौधरीले बताए। परम्पराको निरन्तरताका लागि पुस्तान्तरण जरुरी रहेको उनको भनाइ छ।
