दसैंमा हलमा आएका तीन नेपाली सिक्वेल फिल्मले पछिल्लो सात दिनमा उल्लेख्य थप कमाइ गरेका छन्। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को कात्तिक १५ गतेसम्मको संयुक्त ग्रस आम्दानी ११ करोड ८९ लाख रुपैयाँ नाघेको छ। एक साताअघि यी तीन फिल्मको कुल आम्दानी ८ करोड ७१ लाख ८० हजार रुपैयाँ थियो। सात दिनमा तीनवटै फिल्मले ३ करोड १७ लाख ३२ हजार रुपैयाँभन्दा बढी थप कमाएका हुन्।
तीनमध्ये सबैभन्दा बढी कमाउने ‘आबाट आमा २’ हो। चन्द्र पन्तले निर्देशन गरेको यो फिल्मले कात्तिक १५ गतेसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस आम्दानी गरेको छ भने २ लाख १३ हजार १९४ टिकट बिक्री भएका छन्। अघिल्लो विवरणको ४ करोड ११ लाख ४६ हजार रुपैयाँबाट फिल्मले एक सातामा २ करोड १३ लाख रुपैयाँभन्दा बढी थपेको छ।
दोस्रोमा रहेको दीपेन्द्र लामाको ‘छ माया छपक्कै २’ ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ कमाएको छ भने यसका १ लाख ३ हजार ९७९ टिकट बिक्री भएका छन्। अघिल्लो साताको २ करोड ७६ लाख ३९ हजार रुपैयाँको तुलनामा फिल्मले ५८ लाख ४५ हजार रुपैयाँ थप कमाएको हो।
विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ को आम्दानी २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ पुगेको छ। यसका ७४ हजार ८०३ टिकट बिक्री भएका छन्। अघिल्लो विवरणमा १ करोड ८३ लाख ९४ हजार रुपैयाँ कमाएको फिल्मले सात दिनमा ४५ लाख ६३ हजार रुपैयाँभन्दा बढी थपेको छ।
