पोखरामा स्कुटरले ठक्कर दिँदा एक जना वृद्ध पैदलयात्रीको ज्यान गएको छ। पोखरा महानगरपालिका–२६ को अर्घौचोकस्थित सडकमा आइतबार साँझ भएको दुर्घटनामा ७० वर्षीय मन बहादुर पुनको मृत्यु भएको हो।
पुन सोही वडामा बस्दै आएका थिए। उनको स्थायी घर पर्वतको जलजला गाउँपालिका–५ मा रहेको प्रहरीले जनाएको छ। ग १३ प २०९४ नम्बरको स्कुटरले उनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पुनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ।
ठक्कर दिने स्कुटरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
