काठमाडौं । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले पाँच बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारलाई लिएर सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो ।
बैठकले सञ्चारमाध्यममा आएका विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता अटल रहेको पनि बैठकले स्पष्ट पारेको छ ।
त्यस्तै, सञ्चारमाध्यममा आएका समाचारबारे हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम जवाफदेहिता निर्वाह गर्न तथा सहयोग गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बैठकको निर्णयमा उल्लेख छ ।
छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि बैठकले सञ्चारमाध्यमलाई आग्रह गरेको छ । साथै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत न्यायकर्मीहरूलाई आग्रह गरिएको छ ।
