चाडपर्वका बेला बजारमा हुने कालोबजारी र मूल्यवृद्धि रोक्न सरकारले अनुगमनलाई थप कडा पार्ने भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सचिवहरूको बैठकले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पार्ने निर्णय गरेको हो ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ अघि बढ्न निर्देशन दिने निर्णय पनि गरेको छ । उपभोक्ता ठगिने र अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना हुने अवस्था आउन नदिन अनुगमनलाई निरन्तर र प्रभावकारी बनाइने बैठकको निष्कर्ष छ ।
त्यस्तै, बैठकले सरकारी सेवा प्रवाह चुस्तदुरुस्त भए वा नभएको विषयमा पनि अनुगमन गर्ने निर्णय गरेको छ । सेवाग्राहीले झन्झटबिना छिटो सेवा पाउनुपर्नेमा बैठकले जोड दिएको छ ।
मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो बैठक नियमित रूपमा महिनाको पहिलो सोमबार बस्ने गर्छ । दसैँ बिदाका कारण यसपटक सोमबार बसेको बैठकमा समसामयिक विषयमा समेत छलफल भएको एक सचिवले बताए ।
