काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजको नेतृत्वमा छ सदस्यीय संसदीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको निमन्त्रणामा टोली सोमबार काठमाडौं आइपुगेको हो।
टोली सोमबार कतार एयरवेजको उडानमार्फत नेपाल आइपुगेको सभामुख अर्यालको सचिवालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल–स्विट्जरल्यान्ड संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले टोलीको स्वागत गरेकी थिइन्।
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद् त्यहाँको संघीय सभाको तल्लो सदन हो। अध्यक्ष पेजको नेतृत्वमा रहेको छ सदस्यीय टोलीमा परिषद्का प्रतिनिधिहरू सहभागी छन्।
नेपाल भ्रमणका क्रममा टोलीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
राष्ट्रिय परिषद्का अध्यक्ष नेतृत्वको टोलीको यो भ्रमण संसदीय आदानप्रदानका क्रममा भएको हो। भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटघाटमा दुई देशबीचको संसदीय सम्बन्ध र सहकार्यका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ।
