दसैं बिदापछि खुलेको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य रूपमा ओरालो लागेको छ। सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९ अंकमा पुगेको हो। यसअघि दसैंअघि लगातार सात कारोबार दिन बजार बढेको थियो।
सोमबारको कारोबारमा ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको मूल्य घट्यो भने ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि केही खुम्चिएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब रुपैयाँको मात्र कारोबार भयो।
समग्र बजार घटे पनि उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने लगानीकर्ताको आकर्षण देखियो। उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढे। व्यापार समूहमा विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढेपछि समूह नै उकालो लागेको हो। यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा दुई कम्पनी छन्, र उच्च पुँजीकरणका कारण विशाल बजारको चालले नै समूहलाई प्रभावित पार्छ।
उत्पादन तथा प्रशोधन समूहलाई सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले माथि धकेल्यो। भर्खरै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको ५.८१, सोनापुर सिमेन्टको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्टको ४.४७, सानिमा मिडिल तमोरको ३.८४ र सानिगढ हाइड्रोको ३.७८ प्रतिशतले मूल्य बढ्यो।
घट्ने कम्पनीमा चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घट्यो। महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, गुराँस लघुवित्तको ५.८१, एसियन हाइड्रोपावरको ४.३४, अपोलो हाइड्रोपावरको ४.१६ र शुभम् पावरको ४.११ प्रतिशतले मूल्य घट्यो। धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक र सानिमा मिडिल तमोर अगाडि रहे।
