सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन्। बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई सोमबार मन्त्रालयमा नियुक्तिपत्र हस्तान्तरण गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
मन्त्री तिमिल्सिनाले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन नसकेको गुनासो गर्ने गरेको उल्लेख गरे। उनले वर्तमान सरकारबाट चलचित्रकर्मीहरूले ठूलो अपेक्षा राखेको पनि बताए। सरकारले चलचित्र बनाउने नभई चलचित्र बन्नका लागि सही वातावरण, सही नीति र प्रोत्साहन दिने काम गर्ने उनको भनाइ थियो।
बोर्डले सरकार र चलचित्रकर्मीहरूको बीचमा रहेर चलचित्र क्षेत्रको विकासका लागि ठोस रूपमा काम गर्नुपर्नेमा मन्त्रीले जोड दिए। बोर्ड कुनै निश्चित वर्ग वा निश्चित दायराका मानिसहरूको मात्र हो भन्ने बुझाइबाट बाहिर ल्याएर सम्पूर्ण चलचित्रकर्मीहरूको बोर्ड बनाउनुपर्ने उनको भनाइ थियो।
जब बोर्डप्रति सबैको अपनत्व स्थापित हुन्छ, तब काम गर्न पनि सहज हुने र चलचित्र क्षेत्रबाटै प्राप्त हुने सहयोगमा पनि बढोत्तरी हुने मन्त्री तिमिल्सिनाले बताए। नवनियुक्त अध्यक्ष पण्डितले बोर्डलाई साँच्चिकै साझा संस्थाका रूपमा अघि बढाउने अपेक्षा मन्त्रीले व्यक्त गरे।
