दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना किशोरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया दुई किशोरी घर नजिकैको जंगलमा एकै ठाउँमा मृत भेटिएका हुन्।
मृतक किशोरीहरू आपसमा मामा-फुपूका छोरी अर्थात् दिदी-बहिनी रहेको प्रहरीले जनाएको छ। आइतबार राति एकै घरमा सुतेका उनीहरू राति नै कतै निस्किएका थिए। सोमबार बिहान घरभन्दा केही टाढा रहेको जंगलमा दुवै जनाको शव एकसाथ फेला परेको हो।
घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय तथा जिल्लाबाट खटिएको टोलीले घटना स्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
