काठमाडौं । स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रय लिइरहेका भोटेकोशी बाढीपीडितले शनिबारदेखि गुम्बा छोड्न थालेका छन् । गुम्बा व्यवस्थापनले लामो समय भइसकेकाले अब आफ्नो व्यवस्था गर्न भनेपछि पीडितहरू अन्यत्र सर्न बाध्य भएका हुन् ।
गुम्बा छोडेका पीडित तत्काल काठमाडौंमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् । सरकारले नगरे पनि टिमुरेमाथि खैदे डाँडामा आफैं बासस्थानको व्यवस्था गर्ने उनीहरूको भनाइ छ ।
गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेका पेमा दोर्जे घलेले यत्तिका समयसम्म पनि सरकारले अस्थायी बासस्थानको कुनै योजना नल्याएको गुनासो गरे । हुनेले कोठा लिएर बसे होला, नहुने पीडित धेरै छन् भन्दै उनले सरकारको ध्यान अझै नपुगेको बताए ।
गृहमन्त्री सुधन गुरुङ एक पटक गुम्बासम्म आएर काठमाडौंमै अस्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिएको घलेले सुनाए । तर गुम्बा छोड्नुपर्ने अवस्था आइसक्दा पनि सरकारले बेवास्ता गरेको उनको गुनासो छ । सरकारले दिएको १५ हजार रुपैयाँले कोठाभाडा तिर्ने कि रासन किन्ने भन्ने अन्योल रहेको उनले बताए ।
अर्का पीडित कामी नुर्बु तामाङले ९० प्रतिशत बाढीपीडित काठमाडौं बस्न नसक्ने बताए । सिस्नो–ढिँडो खाएर भए पनि खेती र पशुपालनमै फर्कने उनको भनाइ छ । मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना आश्रित थिए, जसमध्ये १७१ बालबालिका र ८० वृद्धवृद्धा छन् । पहिलो १० दिन यल्लो गुम्बामा बसेका पीडित त्यसपछि मुस्ताङ गुम्बामा सारिएका थिए । दुई महिनासम्म गुम्बा र लायन्स क्लबले गाँस–बासको व्यवस्था गरिदिएकोमा पीडितले धन्यवाद दिएका छन् ।
