नेपाली साङ्गीतिक आकाशमा एउटा गीतले नयाँ कीर्तिमान बनाएको छ। गायिका शान्तिश्री परियार र गायक निश्चल दवाडीको स्वर रहेको लोकप्रिय गीत ‘गोर्खे खुकुरी’ले भिडियो साझेदारी मञ्च युट्युबमा १० करोडभन्दा बढी पटक हेरिएको छ।
करिब दुई वर्षअघि सार्वजनिक भएको यो गीत सुरुदेखि नै श्रोताको मनमा बसेको थियो। टिकटकलगायतका सामाजिक सञ्जालमा पनि यो गीत निकै चर्चित बनेको थियो, जसले यसको लोकप्रियतालाई अझ उचाइमा पुर्यायो।
यो उपलब्धिपछि गायिका परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो खुसी सार्वजनिक गरेकी छन्। करिब सवा तीन करोड जनसङ्ख्या भएको देशको एउटा गीतले १० करोडभन्दा बढी पटक हेरिनुलाई उनले आफ्नो ठूलो सौभाग्य बताएकी छन्।
संसारका विभिन्न देशमा बसोबास गर्ने करोडौँ नेपाली भाषी श्रोता तथा दर्शकप्रति उनले हृदयदेखि आभार व्यक्त गरेकी छन्। यस्तो माया पाउने सिर्जनासँग जोडिन पाउनु आफ्ना लागि अहोभाग्य भएको उनको भनाइ छ।
गीतका सर्जकसमेत रहेका गायक दवाडीलाई उनले विशेष बधाई दिँदै धन्यवाद दिएकी छन्। साथै, गीतको भिडियोलाई आकर्षक बनाउन योगदान गर्ने निर्देशक, मोडल तथा निर्माता लोमस शर्मासहित अडियो र भिडियो निर्माणमा संलग्न सम्पूर्ण टिमलाई पनि उनले बधाई ज्ञापन गरेकी छन्।
