दाङको लमहीमा रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका र त्यस वरपरका क्षेत्रमा नदी व्यवस्थापनलाई दिगो बनाउन वैज्ञानिक अध्ययन र गुरुयोजना तयार गर्ने काम अघि बढाएको छ।
पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा जमिनको प्रयोगमा आएको परिवर्तन, बढ्दो तापक्रम र जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई ध्यानमा राखेर यो अध्ययन थालिएको हो। यसको मुख्य उद्देश्य बाढीको जोखिम घटाउनु र नदी किनारमा बन्ने पूर्वाधारलाई दीर्घकालीन रूपमा टिकाउ बनाउनु रहेको आयोजनाले जनाएको छ।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण गर्ने र अध्ययन गर्ने काम पूरा भइसकेको छ। यो अध्ययनले नौमुरे बाँध निर्माण भएपछि सुक्खा याममा देखिने पानीको अभाव र वर्षायाममा आउने बाढीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ठूलो सहयोग पुर्याउने उनको भनाइ छ।
नदी नियन्त्रण, पुल तथा अन्य हाइड्रोलिक संरचनाको डिजाइनमा एकरूपता ल्याएर दिगो र जलवायुमैत्री संरचना निर्माण गर्नु पनि अध्ययनको लक्ष्य हो। हालसम्म बनेका नदी नियन्त्रण संरचनाको संरक्षण र आगामी योजनालाई पारदर्शी तथा व्यवस्थित बनाउन वेबमा आधारित सम्पत्ति व्यवस्थापन प्रणाली पनि तयार पारिएको छ।
यस प्रणालीमार्फत हालसम्म बनेका संरचनाको डिजिटल अभिलेख, त्यसबाट समुदायले पाएको लाभ, आवश्यक थप संरचनाको विवरण, लागत र त्यसबाट प्राप्त हुने प्रतिफल समेटेर गतिशील गुरुयोजना तयार गरिनेछ।
