काठमाडौं । प्रहरीले नियमित गस्तीका क्रममा देशका सात जिल्लाबाट लागुऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पछिल्लो कारबाहीमा ट्रामाडोल, नाइट्राजेपाम, डाइजेपाम र ब्राउनसुगरजस्तो पदार्थ बरामद भएको हो।
सबैभन्दा ठूलो धरपकड झापा र सुनसरीमा भएको छ। मेचीनगर नगरपालिका–२ मा खैरो हेरोइनजस्तो पदार्थसहित ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेका छन्। यस्तै इटहरीमा ट्रामाडोल र डाइक्लोमाइनसहित पक्राउ परेका दुई जनाबाट प्रहरीले दुई वटा मोटरसाइकलसमेत बरामद गरेको छ।
मकवानपुरको हेटौंडा–११ थानाभर्याङबाट ट्रामाडोलसहित ३२ वर्षीय गोविन्द तामाङ र २४ वर्षीय सफल विक्रम राणा समातिएका छन्। ललितपुरको वाइवाई चोकबाट २२ वर्षीय नवीन आले मगरसहित दुई जनालाई नियन्त्रित लागुऔषध ट्रामाडोलसहित पक्राउ गरिएको छ।
कञ्चनपुरको बेलौरी–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो पदार्थसहित ३० वर्षीय विशाल विक र २२ वर्षीय कुशल चौधरीलाई नियन्त्रणमा लिइएको छ। उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित २१ वर्षीय सरोज बर्देवा तथा तनहुँको भिमाद–६ बाट फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित ३१ वर्षीय शिव मल्ल पक्राउ परेका छन्।
