दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका सातवटा मुख्य ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिका लागि मंगलबार एकैपटक ठेक्का आह्वान गरेको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा गाउँपालिकाको आन्तरिक स्रोत, संघीय सरकार र बागमती प्रदेश सरकारको समपूरक अनुदान साझेदारीमा कुल आठ करोड २० लाख रुपैयाँ बराबरको बजेटबाट सडक निर्माणको काम अघि बढाइएको हो।
गाउँकार्यपालिकाको बैठकबाट आवश्यक निर्णय गरी वार्षिक बजेटअनुसार सडक ढलान तथा कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिए। उनका अनुसार वैतेश्वरले पछिल्लो छ वर्षमा करिब ३५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन खनालका अनुसार सातवटा सडक योजनामध्ये गोपी–जोरमाने सडक ढलानका लागि बागमती प्रदेश सरकारको एक करोड र गाउँपालिकाको आन्तरिक स्रोतबाट एक करोड गरी दुई करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ। त्यसैगरी बस्ती–पुतलीकाठ सडकका लागि पनि प्रदेश सरकारको एक करोड र गाउँपालिकाको एक करोड गरी दुई करोड रुपैयाँ विनियोजन गरिएको छ।
संघीय सरकारले चालु आर्थिक वर्ष वैतेश्वरका लागि विनियोजन गरेको ३० लाख रुपैयाँमा गाउँपालिकाले थप ३० लाख रुपैयाँ जुटाएर मेघेचौर–डाँडागाउँ सडकका लागि ६० लाख रुपैयाँको ठेक्का आह्वान गरेको छ। त्यसैगरी गाउँपालिकाको आन्तरिक स्रोतबाट अन्य चार सडक निर्माणका लागि तीन करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।
जसअनुसार मिर्गे–भूमेथान–लहरेमाने सडकका लागि एक करोड, माझीबस्ती सडकका लागि ६० लाख, सुलीडाँडा–गाउँपालिका सडकका लागि एक करोड र मैनापोखरी–देउराली–क्षेत्रपा सडकका लागि एक करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिए।
सडक निर्माण सम्पन्न भएपछि मुख्य बस्ती र बजार सहज यातायात सञ्जालमा जोडिने, कृषि उपजको ढुवानी सहज हुने र नागरिकको आवागमन सुरक्षित हुने गाउँपालिकाको अपेक्षा छ।
