नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड फुटबल खेलाडीहरूमध्ये सबैभन्दा बजारयोग्य खेलाडी बनेका छन्। म्यानचेस्टर सिटीबाट खेलिरहेका उनले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै खेलकुद व्यवसायसम्बन्धी सञ्चारमाध्यम स्पोट्र्सप्रोको सन् २०२६ को सूचीमा फुटबलतर्फ शीर्ष स्थान हासिल गरेका हुन्।
समग्र सूचीमा भने हालान्ड चौथो स्थानमा छन्। महिला टेनिस खेलाडी आर्यना साबालेन्का पहिलो, चिनियाँ स्की खेलाडी आइलिन गु दोस्रो र बास्केटबल खेलाडी यानिस एन्टेटोकुम्पो तेस्रो स्थानमा छन्। पुरुष टेनिस खेलाडी कार्लोस अल्काराज पाँचौँ स्थानमा छन्। हालान्ड शीर्ष १० भित्र पर्ने एक्ला फुटबलर हुन्। गत वर्षको सूचीमा पाँचौँ स्थानमा रहेका रोनाल्डो यसपटक १४औँ स्थानमा झरेका छन्। फ्रान्सका किलियन एम्बाप्पे १९औँ, ब्राजिलका भिनिसियस जुनियर २०औँ, स्पेनका लामिन यामल २३औँ र अर्जेन्टिनाका लियोनल मेसी २७औँ स्थानमा छन्।
हालान्डको लोकप्रियता बढाउन सामाजिक सञ्जालको ठूलो भूमिका छ। उनले सन् २०२५ अक्टोबरमा आफ्नै युट्युब च्यानल सुरु गरेका थिए र एक वर्ष नपुग्दै त्यसका सदस्य संख्या ४६ लाख पुगेको छ। उनका भिडियो गरी करिब २५ करोड पटक हेरिएका छन्। उनले लामो कपाल काटेको भिडियो मात्रै करिब एक करोड पटक हेरिएको छ। विश्वकप अवधिमा उनको इन्स्टाग्राममा मात्रै तीन करोड २० लाख नयाँ फलोअर्स थपिएका थिए।
सन् २०२६ को विश्वकपमा २८ वर्षपछि फर्किएको नर्वेलाई क्वार्टरफाइनलसम्म पुर्याउन हालान्डले पाँच खेलमा सात गोल गरे। अन्तिम १६ को खेलमा ब्राजिलविरुद्ध उनले दुई गोल गर्दै टोलीलाई अप्रत्याशित जित दिलाएका थिए। मैदानबाहिर उनी नाइक, बिट्स बाइ ड्रे, ब्राइटलिङ र बडवाइजरजस्ता ब्रान्डसँग आबद्ध छन्।
यस वर्षको मूल्याङ्कनमा ब्रान्ड मूल्य, बढ्दो लोकप्रियता र भविष्यमा व्यावसायिक विस्तारको सम्भावनालाई आधार बनाइएको छ। कुल १०० अङ्कमध्ये ब्रान्ड इक्विटीलाई ४५, बढ्दो लोकप्रियतालाई ४० र व्यावसायिक विस्तारको सम्भावनालाई १५ अङ्क दिइएको थियो।
