विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अध्यक्ष जियानी इन्फान्टिनोको असफल विश्वकप बिक्री योजनासँग जोडिएका महत्वपूर्ण कागजात आफ्ना काउन्सिल सदस्यलाई हेर्न दिने भएको छ। तर ती कागजात हेर्न कडा गोपनीयता र समीक्षा प्रक्रिया पालना गर्नुपर्नेछ।
युरोपेली फुटबल महासंघ यूईएफएले गत महिना फिफालाई नोभेम्बर २ सम्मको समयसीमा दिँदै विवादास्पद फिफा फर्वार्ड इन्टरप्राइज प्रस्तावबारे विस्तृत विवरण दिन र शासन व्यवस्था तथा निर्णय प्रक्रियासँग जोडिएका प्रश्नको जवाफ दिन माग गरेको थियो। त्यसअघि बसेको फिफा काउन्सिल बैठकमा अध्यक्ष इन्फान्टिनोले निजी लगानीकर्तालाई विश्वकपमा हिस्सेदारी बेच्ने योजना त्याग्नुपरेकोमा माफी मागेका थिए। तर योजना कसरी तयार भयो र निर्णयमा को–को संलग्न थिए भन्ने विषयमा उनले स्पष्ट जवाफ दिएका थिएनन् र प्रश्न लिखित रूपमा पठाउन आग्रह गरेका थिए।
यूईएफएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहँदा फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले काउन्सिल सदस्यलाई पत्र लेख्दै कागजात हेर्न पाउने जानकारी दिएका हुन्। बीबीसी स्पोर्टले उक्त पत्र प्राप्त गरेको जनाएको छ।
पत्रअनुसार सदस्यहरूले स्विट्जरल्यान्डको ज्युरिखस्थित फिफाको मुख्यालयमै उपस्थित भएर ती कागजात हेर्न सक्नेछन्। गोपनीयता कायम राख्न कडा समीक्षा प्रक्रिया अपनाइने र इच्छुक सदस्यले आगामी दुई साताभित्र कागजात हेर्न नाम दर्ता गराउनुपर्नेछ। तर कुन–कुन कागजात उपलब्ध गराइनेछ भन्ने अझै स्पष्ट भएको छैन।
बीबीसी स्पोर्टलाई प्राप्त जानकारीअनुसार फिफाले यूईएफएले उठाएका एक सयभन्दा बढी प्रश्नको दुई साताभित्र जवाफ दिने समयसीमालाई अव्यावहारिक मानेको छ। फिफा अहिले अजरबैजानमा नयाँ युवा विश्वकप आयोजना गर्ने तयारी र यसै महिनाको अन्त्यमा हुने विशेष कंग्रेसको व्यवस्थापनमा व्यस्त रहेको बताइएको छ।
यसैबीच यूईएफएले अक्टोबरमा अमेरिकामा फिफाविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको छ। उक्त प्रक्रियामार्फत विभिन्न प्रमाण र कागजात सार्वजनिक गर्न माग गरिएको छ। आवश्यक परे स्विट्जरल्यान्डमा फौजदारी उजुरीसमेत दर्ता गर्न सकिने चेतावनी यूईएफएले दिएको छ। यस कानुनी प्रक्रियाका कारण पनि फिफालाई केही प्रश्नको जवाफ दिन कठिनाइ भइरहेको स्रोतहरूले बताएका छन्।
गत महिना यूईएफएले फिफालाई आठ पृष्ठ लामो पत्र लेख्दै उसले उठाएका केही आधारभूत प्रश्नको जवाफ दिन असफल भएको आरोप लगाएको थियो। पत्रमा एफएफई प्रस्ताव, राष्ट्रिय फुटबल संघलाई उपलब्ध गराइने आर्थिक सहयोग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलोपटक प्रदान गरिएको फिफा शान्ति पुरस्कार तथा विश्वकपमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगनमाथि लगाइएको प्रतिबन्ध निलम्बन गर्ने विवादास्पद निर्णयलगायत विषय समेटिएका थिए।
यूईएफएले पत्रमा प्रस्ताव फिर्ता लिनु, गल्ती स्वीकार गर्नु र सम्भावित शासकीय सुधारको घोषणा गर्नुले सम्बन्धित निर्णय कसरी लिइए र उचित समयमा फिफा काउन्सिललाई किन सहभागी गराइएन भन्ने प्रश्नको जवाफ नदिने उल्लेख गरेको थियो। ती प्रश्नको जवाफ अहिले नै आवश्यक रहेको र भविष्यमा गरिने शासकीय सुधारले विगतका निर्णयको समीक्षा र त्यसप्रतिको जवाफदेहितालाई प्रतिस्थापन गर्न नसक्ने उसको भनाइ थियो।
फिफाले समयसीमाभित्र जवाफ नदिए के कदम चाल्ने भन्नेबारे यूईएफएले स्पष्ट पारेको छैन। तर आगामी वर्ष हुने फिफा अध्यक्षको निर्वाचनअघि इन्फान्टिनोमाथि दबाब बढाउने यूईएफएको प्रयासका रूपमा यसलाई हेरिएको छ। उक्त निर्वाचनमा इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने वा नदिने निर्णय गर्न इच्छुक उम्मेदवारले नोभेम्बर १८ भित्र आफ्नो उम्मेदवारीबारे जानकारी गराउनुपर्नेछ।
फिफा महासचिव ग्राफस्ट्रोमले आफ्नो पत्रमा यूईएफएको मागमा फिफा प्रशासनले अनुमान गरेभन्दा निकै बढी प्रश्न समावेश रहेको उल्लेख गरेका छन्। फिफाले अहिले ती प्रश्नको जवाफ तयार गरिरहेको र तयार भएपछि सबै काउन्सिल सदस्यलाई उपलब्ध गराउने उनले बताएका छन्। उनले एफएफई प्रस्ताव फिफा काउन्सिल र सदस्य संघको बहुमतको अनिवार्य स्वीकृतिबिना अघि बढ्न नसक्ने दाबी पनि गरेका छन्। प्रस्ताव फिर्ता लिँदा फिफालाई कुनै आर्थिक जरिवाना वा दण्ड भोग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
