दक्षिण अफ्रिकाका चर्चित मध्यक्रमका ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का प्रतिनिधिहरूले उनको स्वागत गरे।
३७ वर्षीय बायाँ हाते ब्याटर मिलर विश्व क्रिकेटमा विस्फोटक ब्याटिङका लागि चिनिन्छन्। उनले दक्षिण अफ्रिकाका लागि एक सय ४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार आठ सय चार रन बनाएका छन्, जसमा दुई शतक र नौ अर्धशतक समावेश छन्। ती शतक भारत र बंगलादेशविरुद्ध बनेका थिए। समग्र टी–२० क्रिकेटमा उनले पाँच सय ८४ खेलमा १२ हजार चार सय ३५ रन बनाएका छन्, जसमा चार शतक र ५३ अर्धशतक छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कीर्तिमान बनाएका थिए। आईपीएलमा पञ्जाबका तर्फबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उनले ३८ बलमै शतक बनाएका थिए।
मिलरले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका छन्। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो पटक आईपीएल उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरजस्ता विश्वस्तरीय खेलाडीको आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने बताए।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएलमा कर्णालीले तीन खेल खेलिसकेको छ। टोलीले जनकपुरलाई १९ रन र विराटनगरलाई चार विकेटले हराएको छ भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको छ। अब शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा मिलर कर्णालीको जर्सीमा देखिनेछन्।
