स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ। बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत यो प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको हो।
पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच दिइएको छ। यी दुई पालिकाबाट सेवा सुरु गरेर क्रमशः अन्य स्थानीय तहसम्म विस्तार गरिने बोर्डले जनाएको छ।
नयाँ प्रणाली लागू भएसँगै अब प्रदेश सरकार र स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा दर्ता तथा नवीकरण गर्न सक्नेछन्।
स्थानीय तहले दर्ता सहयोगीमार्फत वा स्वयं आफ्नै ड्यासबोर्डबाट योगदान रकम भुक्तानी गर्न र त्यसको सम्पूर्ण अभिलेखको व्यवस्थापन डिजिटल रूपमै गर्न सक्नेछन्। यसले बीमा दर्ता प्रक्रियामा लाग्ने समय उल्लेख्य रूपमा बचत हुने बोर्डको भनाइ छ।
बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा. पवन कुमार साहले सामूहिक आबद्धता प्रक्रिया सहज, व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बन्ने र दर्तामा लाग्ने समय घट्ने अपेक्षा गरिएको बताएका छन्। बोर्डले आफ्ना नागरिकलाई सहज रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउन प्रविधिको उच्चतम प्रयोग गर्न सम्पूर्ण प्रदेश सरकार तथा स्थानीय तहलाई आह्वान समेत गरेको छ।
