बझाङको केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। बुधबार बिहान करिब १० बजे भएको दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा केदारस्युँ–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए। गम्भीर घाइते हुनेमा केदारस्युँ–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी र २६ वर्षीय रमेश धामी छन्। दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी पनि गम्भीर घाइते भएका छन्। केदारस्युँ–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते छन्।
प्रहरीका अनुसार बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो। घटनापछि स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएका छन्।
घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने भएकाले प्रहरी टोली त्यसतर्फ हिँडिसकेको डीएसपी जोराले बताए। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
