एक वर्षभित्र दुई वटा भीषण रेल दुर्घटना भएपछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले पद छोड्ने घोषणा गरेका छन्। पछिल्लो दुर्घटनाको छ दिनपछि उनले राजीनामा दिएका हुन्।
गत साता म्याड्रिड र दक्षिणी क्षेत्र अन्डालुसियालाई जोड्ने उच्च गतिको रेलमार्गमा भएको दुर्घटनामा ६९ जनाको ज्यान गएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए। अधिकारीहरूका अनुसार मानवीय त्रुटि र कम्प्युटर प्रणालीको गडबडीले दुर्घटना भएको थियो। सुरक्षा प्रणालीमा समस्या देखिएपछि उक्त मार्गमा सेवा रोकिएको थियो, तर पनि एउटा रेलले उच्च गतिमा रोकिएको अर्को रेललाई ठक्कर दिएको थियो। रातो बत्ती बलेर रेल रोक्नुपर्ने अवस्थामा पनि अघि बढ्न दिइएको पुएन्तेले बताएका छन्।
यसअघि गत जनवरीमा अन्डालुसियाकै अदामुजमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको थियो।
म्याड्रिडमा सांसदहरूलाई सम्बोधन गर्दै पुएन्तेले दुर्घटना भएको केही मिनेटमै आफ्नो भविष्यबारे निर्णय गरिसकेको बताए। दुर्घटनाका कारण फरक भए पनि र आफ्नो प्रत्यक्ष जिम्मेवारी भए पनि नभए पनि, एक वर्षभन्दा कम समयमा दुई गम्भीर दुर्घटनापछि पदमा रहनु उचित नहुने उनको भनाइ छ।
दुर्घटनापछि राजनीतिक दलका नेता र यातायात मजदुर युनियनले राजीनामा मागेका थिए। दुर्घटना भएको रात मन्त्रालयबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो र केही प्रदर्शनकारीले प्रधानमन्त्री पेद्रो सान्चेजको पनि राजीनामा मागेका थिए।
स्पेनमा तीन सातापछि आमनिर्वाचन हुँदैछ। पुएन्तेले आफू उम्मेदवार नबन्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले सामाजिक सञ्जालमार्फत पुएन्तेको प्रशंसा गर्दै पीडितहरूप्रतिको सम्मान र प्रगतिशील अभियानप्रतिको प्रतिबद्धताका कारण उनले पद छाडेको बताएका छन्।
