ऋण लिनुअघि आफ्नो उद्देश्य र आर्थिक हैसियत प्रस्ट हुनु जरुरी छ भन्ने नेपाल राष्ट्र बैंकले स्मरण गराएको छ। घर चलाउन होस् वा व्यवसाय सुरु गर्न, ऋणबाट आम्दानी वा सम्पत्ति बढ्ने आधार स्पष्ट हुनुपर्छ। भविष्यको आम्दानी घटाउने भएकाले आवश्यकताभन्दा बढी ऋण नलिनु नै बुद्धिमानी हुन्छ।
राष्ट्र बैंकका अनुसार ऋण लिनुअघि मासिक आम्दानीको तुलनामा किस्ता र ब्याज धान्न सकिन्छ कि सकिँदैन भन्ने हिसाब गर्नुपर्छ। पुरानो ऋण तिर्न वा घाटा पूर्ति गर्न नयाँ ऋण लिँदा जोखिम झन् बढ्छ, त्यसैले विकल्पहरूबारे पहिले नै जानकारी लिनु उपयुक्त हुन्छ।
कर्जा छान्दा ब्याजदर मात्र हेरेर पुग्दैन। अन्य शुल्क, अवधि, प्रक्रिया र सर्तहरू पनि तुलना गर्नुपर्छ र ब्याजसहितको वार्षिक लागत निकाल्नुपर्छ। स्थिर र परिवर्तनशील ब्याजदरको फरक बुझ्नुपर्छ। बैंकको आधार दर र प्रिमियम बदलिँदा ब्याजदर पनि बदलिन सक्छ। सम्झौतामा हस्ताक्षर गर्नुअघि सबै बुँदा पढ्नुपर्छ। समयमा किस्ता नतिरे विलम्ब शुल्क र चक्रवृद्धि ब्याज लाग्न सक्छ।
धितो वा जमानीको कानुनी असर बुझ्नुपर्छ र ऋण लिएको काममा मात्र रकम प्रयोग गर्नुपर्छ। आम्दानी घट्ने जोखिम र बीमाको व्यवस्थाबारे पनि जानकारी राख्नुपर्छ।
किस्ता तिर्न गाह्रो भए बैंकसँग सम्पर्क गरी सर्त पुनरावलोकन गर्न सकिन्छ। समयमा नतिरे कर्जा जोखिम सूचकाङ्क बढ्छ। अग्रिम चुक्ता वा ऋण सार्दा लाग्ने शुल्कबारे पनि पहिले नै बुझ्नुपर्छ। सेवामा असन्तुष्टि भए गुनासो गर्न सकिन्छ र संस्थाबाट समाधान नभए नियामक वा न्यायिक निकायमा उजुरी गर्न सकिन्छ। अनौपचारिक स्रोतबाट लिएको ऋणको गुनासो सुनुवाइ नहुने भएकाले औपचारिक वित्तीय संस्थाबाट मात्र ऋण लिन राष्ट्र बैंकले सुझाव दिएको छ।
