रोमानियाले गैरयुरोपेली मुलुकबाट विदेशी कामदार भर्ना गर्ने प्रक्रिया सहज बनाउन सरकारी डिजिटल पोर्टल पुनः सञ्चालन गर्ने तयारी गरेको छ। ‘वर्क इन रोमानिया’ नामको यो प्लेटफर्ममार्फत रोजगारदाता र कामदार भर्ना गर्ने संस्थाहरूले अनलाइनबाटै आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्। शोषण तथा दुर्व्यवहारमा परेका कामदारले पोर्टलबाटै उजुरी गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
रोमानियामा विदेशी श्रमिक आयात तथा रोजगारदाता कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था पीआईएफएमले अक्टोबर ३० मा सार्वजनिक गरेको जानकारीअनुसार श्रम मन्त्रालयसँग भएको छलफलपछि प्लेटफर्म पुनः सञ्चालन गर्ने विषयमा प्राविधिक तथा कानुनी समाधान खोजिएको छ। उक्त योजनाअनुसार प्लेटफर्मलाई नोभेम्बर १५, २०२६ सम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
विदेशी कामदार आवश्यक पर्ने पेसाहरूको विद्यमान सूची २८९ बाट बढाएर करिब ४०० पुर्याउने तयारीसमेत भइरहेको छ। प्लेटफर्म पुनः सञ्चालनमा आएमा नेपालसहित युरोपेली संघबाहिरका मुलुकबाट नयाँ कामदार भर्ना गर्ने प्रक्रिया पुनः गति लिन सक्ने अपेक्षा गरिएको छ। रोमानिया नेपाली श्रमिक लामो समयदेखि रोजगारीका लागि गइरहेको मुलुक हो। असोजमा रोमानियामा म्यानपावर कम्पनीमार्फत श्रमिक नगए पनि व्यक्तिगत श्रम स्वीकृतिमा ४७५ जना गएका थिए।
यद्यपि प्लेटफर्म पुनः सञ्चालन हुँदैमा सबै विदेशी कामदारको वर्क परमिट वा भिसा स्वतः स्वीकृत हुने छैन। रोजगारदाताले आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ भने सम्बन्धित सरकारी निकायबाट अनुमति तथा स्वीकृति प्राप्त गर्नु अनिवार्य हुनेछ।
