असोज–कात्तिक नेपालको पर्यटनका लागि सबैभन्दा राम्रो समय मानिन्छ। हिमाल नजिकबाट हेर्न र सफा मौसमको आनन्द लिन विदेशी पर्यटक यही बेला नेपाल आउने गर्छन्। पर्यटनको राजधानी भनिने पोखरामा त यो याममा होटल भरिभराउ हुनुपर्ने हो, तर यसपटक लेकसाइडका सडक र होटल सुनसान छन्।
अघिल्ला वर्ष यो समयमा ९० देखि ९५ प्रतिशतसम्म भरिने पोखराका होटलमा अहिले मुस्किलले ६० प्रतिशत मात्र अकुपेन्सी छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछिका विपद् र सरकारले जारी गरेका यात्रा चेतावनीले पर्यटक घटेको व्यवसायीको भनाइ छ। त्यसपछि मर्स्याङ्दी, कालीगण्डकी र बुढीगण्डकीमा पनि बाढी आयो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार जोखिम नभएका ठाउँमा पनि अनावश्यक कडाइ गरियो, जसले आउन लागेका पर्यटकलाई समेत फर्कायो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अकुपेन्सी आधा घटेको बताए।
पोखराको पर्यटन तीन समूहमा अडिएको छ — विदेशी पदयात्री, मुक्तिनाथ जाने भारतीय तीर्थयात्री र नेपाली पर्यटक। कालीगण्डकी करिडोर क्षतिग्रस्त भएपछि भारतीय तीर्थयात्री मुक्तिनाथ पुग्न पाएका छैनन् भने दसैँपछि आन्तरिक पर्यटक पनि घटेका छन्। अहिले पोखरामा रहेका पर्यटकमध्ये झन्डै २५ प्रतिशत मात्र नेपाली छन्।
पोखराको पर्यटनमा करिब ८ खर्ब रुपैयाँ लगानी भएको अनुमान छ, जसमध्ये ६ खर्ब होटलमा मात्रै छ। यहाँ १ हजार ४ सयभन्दा बढी पर्यटकीय होटलमा ४० हजार बेड छन्। पाहुना नआएपछि व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ र कतिपय होटलले ५ डलरमै कोठा दिन थालेका छन्।
एकातिर पर्यटक घट्दा अर्कातिर पोखरा–दुबई उडानले भने आशा जगाएको छ। सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्म फ्लाईदुबईबाट ६ हजार ३ सय ६२ यात्रुले यात्रा गरे, जसमध्ये दुबईबाट पोखरा आउने ४ हजार ५ सय २१ र पोखराबाट दुबई जाने १ हजार ८ सय ४१ थिए।
