१८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजको जर्सीमा भारतका पूर्व विकेटकिपर ब्याटर केएस भरत देखिने छैनन् । व्यस्त कार्यतालिकाका कारण उनी यस सिजन टोलीसँग जोडिन नसक्ने जानकारी गोर्खाजले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।
गोर्खाजले आज आफ्नो आधिकारिक फेसबुक पेजमा भरत यसपटक टोलीमा नहुने उल्लेख गर्दै उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।
३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् । टी–२० क्रिकेटमा उनको अनुभव पनि उल्लेखनीय छ — उनले ९१ खेलमा एक हजार आठ सयभन्दा बढी रन बनाएका छन् ।
भरत सन् २०२४ मा इन्डियन प्रिमियर लिगको उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीका सदस्यसमेत थिए । विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने उनको क्षमताले गोर्खाजका समर्थकमा ठूलो अपेक्षा जगाएको थियो ।
गोर्खाजले गत भदौको पहिलो साता भरतलाई तेस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको जानकारी दिएको थियो । तर व्यस्तताका कारण उनको आगमन हुन नसक्ने भएपछि टोलीले अब विकल्पको खोजी गर्नुपर्ने भएको छ ।
