काठमाडौँ — सामाजिक सञ्जालमा सस्तो मूल्यमा युरोप पठाइदिने भन्दै राखिएका आकर्षक विज्ञापनको पछि लागेर धेरै नेपाली ठगिने क्रम बढेको छ। टिकटक र फेसबुकमा देखिने छोटा भिडिओहरूमा दुई लाख रुपैयाँमै युरोप पुगिने र महिनामा १० लाखसम्म कमाइ हुने दाबी गरिन्छ। विज्ञापन देखेर सम्पर्कमा पुग्ने युवालाई सुरुमा प्रक्रियाका लागि दुई लाख लाग्ने भनिन्छ, तर पछि भिसा प्रक्रिया, मेडिकल रिपोर्ट, पुलिस रिपोर्ट र टिकटको नाममा पटक–पटक गरी ६ लाखदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरिएको छ। रकम बुझाइसकेपछि एजेन्टहरू सम्पर्कविहीन हुने र फेसबुक, भाइबर तथा ह्वाट्सएपमा ब्लक गर्ने गरेको पीडितहरूले बताएका छन्।
यसैबीच मंगलबार प्रहरीले विदेश पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धादिङकी आशिका सिम्खडाले बेलायत पठाइदिने भन्दै ७ लाख ५० हजार, उदयपुरका विष्णु खत्रीले माल्टा पठाइदिने भन्दै ६ लाख, सिन्धुलीका दिनेश पाख्रेन तामाङले संयुक्त अरब इमिरेट्स पठाइदिने भन्दै २ लाख र गोरखाका ३८ वर्षीय राजेश बरामले सिङ्गापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ।
वैदेशिक रोजगार विभागले यस्ता भ्रामक विज्ञापनविरुद्ध कारबाही तीव्र पारेको जनाएको छ। विभागका महानिर्देशक नवराज ढकालले शंकास्पद पेज र अकाउन्ट बन्द गराउन नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय भइरहेको बताए। विभागका अनुसार ठगीसँग सम्बन्धित २८ हजारभन्दा बढी उजुरी अहिले पनि विचाराधीन छन्। विभागले विदेश जानुअघि सम्बन्धित संस्था वा व्यक्तिले सरकारबाट इजाजत लिएको छ कि छैन र मागपत्र आधिकारिक हो कि होइन भन्ने कुरा विभागको वेबसाइट वा एपबाट यकिन गर्न आग्रह गरेको छ।
