काठमाडौँ महानगरपालिकाले तिहारका बेला प्लास्टिकबाट बनेका फूल, माला र सजावटका सामग्रीको बिक्री तथा वितरणमा पूर्ण रोक लगाएको छ। स्वदेशी फूल उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले नेपाली किसानले उब्जाएका फूल सहज रूपमा बेच्न विभिन्न स्थान पनि तोकेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी, व्यापारी र सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री वा वितरण नगर्न आग्रह गरेको छ। सूचनाको अवज्ञा गर्दै त्यस्ता सामग्री बेचेको पाइएमा जफत गरिने चेतावनी महानगरले दिएको छ।
स्वदेशी फूल तथा माला बिक्रीका लागि बानेश्वर–शंखमूल क्षेत्रमा एनबी सेन्टर, आइप्लेक्स मल, सेल्सबेरी र बिग मार्ट शंखमूल तोकिएका छन्। चाबहिल–सिफल क्षेत्रमा सिफल चौर, एसी कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको स्थान तोकिएको छ।
कालिमाटी–कलंकी–स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी र स्वयम्भू धर्मचक्र पार्क तोकिएको छ भने गोङ्गबु–माछापोखरी–नयाँ बजार क्षेत्रमा माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर र गोङ्गबु बिग मार्ट तोकिएको छ।
हाँडीगाउँ–महाराजगञ्ज–बालुवाटार क्षेत्रमा हाँडीगाउँ वडा ५ अगाडिको डबली, सोही वडाको गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट र बाँसबारी बिग मार्ट तोकिएका छन्। सहरको मुख्य क्षेत्रमा काठमाडौँ मल (सुन्धारा), भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी, पुतलीसडक, अनामनगर भाटभटेनी र न्युप्लाजा तोकिएको छ। त्यसैगरी बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र कोटेश्वर स्मार्ट पनि बिक्रीस्थलका रूपमा तोकिएका छन्।
महानगरले सरोकारवाला निकायसँगको समन्वयमा किसानका फूल तथा माला सहज रूपमा बेच्न मल्ल, मार्ट, चौर र खुला स्थान तोकेको जनाएको छ।
