दाङमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्लाका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा राखिएका ती बन्दुक मंगलबार बिहान सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म चलेको अपरेसनमा जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद भएका हुन्। इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट पाँच नाल बन्दुक बरामद गरेको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वनबाट एक नाल र प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेका छन्।
प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट एक नाल, अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले राप्ती गाउँपालिका–१ रौसिङखोला बगर नजिकको झाडीबाट पाँच नाल र अस्थायी प्रहरी पोस्ट गर्तीको टोलीले लमही नगरपालिका–३ स्थित नारायणेश्वर सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका बन्दुकमध्ये १३ नाल चालु अवस्थामा र एक नाल बिग्रिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
