काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा मंगलबार बिहान दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ बजेर ११ मिनेटमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर ठोक्किएका थिए। दुर्घटनामा दुवै हेलिकप्टरका पाइलटसमेत घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउने व्यक्ति भारतको तमिलनाडु राज्यको चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडु हुन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लाको बिसुगार्ड लगिएको छ।
घाइते हुनेमा फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी हेलिकप्टरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्याण्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन्। प्रहरीका अनुसार फिस्टेल हेलिकप्टरमा चालक दलसहित तीन जना सवार थिए।
घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरबाट उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। डाइनेस्टीका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
