बुटवल । एक दशकअघिसम्म सशस्त्र द्वन्द्वका घटनाले चर्चामा रहँदै आएको पाल्पाको वसन्तपुर डाँडा अहिले पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । तिनाउ गाउँपालिका–३ स्थित यो डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएको चार वर्षपछि यहाँको मुहारै फेरिएको हो ।पहिले बुटवल बजारबाट पैदल करिब दुई घण्टामा पुगिने ठाउँ अहिले केबुलकारमार्फत आधा घण्टामै पुगिन्छ । केबुलकारका सञ्चालक चन्द्र ढकालका अनुसार आउनेमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटकको छ । बुटवलको गर्मीबाट मुक्त भई डाँडामा चिसो हावाको आनन्द लिन पाइने भएकाले उनीहरूको आकर्षण बढेको उनको भनाइ छ । करिब छ करोड रुपैयाँ लगानीमा क्यासिनोसहितको तारे होटेल बनाउने योजना पनि अघि बढाइएको छ, जसको वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ ।केबुलकारको माथिल्लो स्टेशन रहेको वसन्तपुरमा कामाख्या देवीको शक्तिपीठ र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिर पुनःनिर्माण गरिएको छ । योसँगै जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान र रेष्टुराँजस्ता पूर्वाधार थपिएका छन् । मौसम सफा हुँदा यहाँबाट हिमशृङ्खलासमेत देखिन्छ ।केबुलकार सञ्चालकका अनुसार तीन वर्षमा पाँच लाखभन्दा बढी पर्यटक यहाँ आए, जसमध्ये करिब ३० प्रतिशत भारतीय छन् । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा भारतीय पर्यटक २५ प्रतिशतले बढेका छन् ।
द्वन्द्वकालको वसन्तपुर डाँडा बन्यो पर्यटकीय केन्द्र : केबुलकारपछि बदलिएको स्वरुप
