काठमाडौं — कार्तिक कृष्ण त्रयोदशीका दिन पर्ने धनवन्तरी जयन्ती आज देशभर मनाइएको छ। आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको सम्झनामा देशका विभिन्न ठाउँमा पूजा, आराधना तथा विविध कार्यक्रम आयोजना गरिएका छन्।
हिन्दु धर्मग्रन्थमा उल्लेख भएअनुसार देवता र असुरले नागलाई नेती र मन्दराचल पर्वतलाई मदानी बनाएर समुद्र मन्थन गर्दा रोगीहरूको उपचारका लागि अमृतको कलश लिएर भगवान् धनवन्तरी उत्पन्न भएका थिए। त्यसै दिनको सम्झनामा हरेक वर्ष यो जयन्ती मनाइन्छ।
आयुर्वेदका चिकित्सकहरूले आजको दिनलाई सत्सङ्कल्पसहित शुभ कार्यको थालनी गर्ने अवसरका रूपमा लिने गर्छन्। काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि नेपालमा धनवन्तरी जयन्ती विधिवत् रूपमा मनाउन थालिएको हो। त्यतिबेला उक्त क्याम्पस राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको थियो र आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ। भगवान् धनवन्तरीलाई एक हातमा आयुर्वेद ग्रन्थ र अर्को हातमा जडीबुटी लिएको रूपमा चित्रण गरिन्छ र उनलाई आयुर्वेद चिकित्सा पद्धतिका संस्थापक मानिन्छ।
जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, नरदेवीस्थित आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस, नेपाल संस्कृत विश्वविद्यालयको दाङस्थित आयुर्वेद क्याम्पस, कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी र निजी क्षेत्रबाट सञ्चालित आयुर्वेद अस्पतालहरूमा पूजा र विविध कार्यक्रम गरिएका छन्।
