जुम्ला — गाउँगाउँसम्म सडक पुगेर चामल सहजै पाइन थालेपछि जुम्लामा चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। पहिले चामलको अभावका कारण जिल्लाका धेरै ठाउँमा चिनोखेती हुने गरेको भए पनि अहिले गाउँबस्तीसम्मै चामल पुग्न थालेपछि किसानले परम्परागत बाली छाड्न थालेका हुन्।
जिल्लाको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी क्षेत्रमा लामो समयदेखि चिनोखेती हुँदै आएको थियो। चामल नपाइने बेला चिनो नै यहाँका किसानको मुख्य अन्न थियो। तर यातायातको सुविधा विस्तार भएसँगै गाउँमा चामल पुग्न थालेपछि किसानले चिनो रोप्न छाड्दै गएको तिला गाउँपालिका–१ का अगुवा किसान लालबहादुर बुढाले बताए।
अहिले हिमा, पातारासी, तिला र सिञ्जा गाउँपालिकाका ग्रामीण बस्तीमा मात्रै चिनोखेती भइरहेको छ। सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार चामल सहज भएपछि किसानले बिस्तारै चिनो छाड्दै गएका छन्। हराउँदै गएका चिनोजस्ता रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उनले जानकारी दिए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा रैथाने बाली लगाउने किसानको सङ्ख्या पछिल्लो समय घटेको छ। त्यस्ता किसानलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न कार्यालयले चालु आर्थिक वर्षका लागि प्रस्ताव माग गरेको छ। जिल्लामा चिनोको कुल उत्पादन कति छ भन्ने यकिन तथ्याङ्क छैन। चालु आर्थिक वर्षदेखि जिल्लामा उत्पादित रैथाने बालीको कुल परिमाणको तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ।
