जनकपुरधाम — स्थानीय युवालाई स–साना पुरिया बनाएर गाँजा बिक्री गर्ने गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट जम्मा ४ सय ५३ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जना गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ३२ वर्षीय अब्दुल रहमान हुन्। आफ्नै घरमा गाँजाको पुरिया तयार पारेर प्रतिपुरिया एक सय रुपैयाँमा बिक्री गर्ने गरेको विशेष सूचना प्रहरीले पाएको थियो।
सूचनाकै आधारमा निगरानी गर्दा बिक्री भइरहेको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय सबैलबाट खटिएको टोलीले आइतबार उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा कागजमा बेरेर बिक्रीका लागि राखिएका ५५ वटा पुरिया बरामद भए, जसमा ३ सय ६० ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ।
अर्का पक्राउ परेका व्यक्ति जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठाका ३५ वर्षीय रामललित साह हुन्। उनलाई कात्तिक ५ गते १४ वटा पुरियामा राखिएको ९३ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
