हुम्लाको लिमी क्षेत्रलाई बाहिरी संसारसँग जोड्ने सडक हिउँले थुनिएपछि त्यसलाई खुलाउने काम थालिएको छ। नाम्खा गाउँपालिका र सिमकोटस्थित पूर्वाधार विकास कार्यालयको सहकार्यमा न्यालुलेकको हिउँ पन्छाउने काम अघि बढाइएको हो।
गत असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षापछि परेको हिमपातले लिमी–लाप्चा सडकखण्डअन्तर्गत पर्ने न्यालुलेक हिउँले ढाकिएको थियो। समुद्री सतहबाट करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको यो क्षेत्रमा बाक्लो हिउँ जमेपछि नाम्खा गाउँपालिका–५ र ६ का बासिन्दाको सडक सम्पर्क टुटेको थियो। सडक बन्द हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न स्थानीयलाई समस्या परेको छ।
गाउँपालिकाका अनुसार मंसिर १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो। सडक खुलाएपछि स्थानीयको आवतजावत सहज हुने र अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिल्ने अपेक्षा गरिएको छ।
कामको प्रगति बुझ्न गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा र पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका थिए। अत्यन्त कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच भइरहेको कामको उनीहरूले स्थलगत निरीक्षण गरेका छन्।
हिमपातका कारण लिमी क्षेत्रको सडक सम्पर्क वर्षेनि प्रभावित हुँदै आएको छ। सडक अवरुद्ध हुँदा स्थानीयले खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभावका साथै आवतजावतमा समस्या भोग्नुपर्छ। त्यसैलाई मध्यनजर गर्दै हिउँ पन्छाउने काम थालिएको गाउँपालिकाले जनाएको छ।
