काठमाडौं — नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको कडा शब्दमा विरोध गरेका छन्। शुक्रबार साँझ सादा पोशाकमा पुगेका प्रहरीले कार्यालयभित्रै प्रवेश गरेर सुवेदीलाई पक्राउ गरेका थिए।
पोख्रेलले पक्राउपुर्जी नै नलिई सञ्चारमाध्यमको कार्यालयमा छिरेर पत्रकार समात्नु गम्भीर गल्ती भएको बताए। पत्रकारले आफ्नो सूचनाको स्रोत जोगाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको र अदालतले समेत स्रोत खुलाउन बाध्य पार्न नमिल्ने उनको भनाइ छ। समाचार लेखेकै कारण पत्रकारलाई साइबर ब्युरोमा पुर्याएर स्रोत खोल्न दबाब दिनु लोकतान्त्रिक व्यवस्थामा कल्पना गर्नै नसकिने कुरा भएको उनले बताए।
समाचारसँग सम्बन्धित कुनै गुनासो भए त्यसको निराकरण गर्ने जिम्मेवारी प्रेस काउन्सिलको रहेको स्मरण गराउँदै पोख्रेलले प्रहरीको सोझो सक्रियता स्वीकार्य नहुने बताए। लोकतन्त्रका आधारभूत मूल्य र कानुनी शासनको सम्मान गर्न राज्यका सबै निकाय गम्भीर हुनुपर्ने उनको जोड छ।
प्रहरीको यो शैलीलाई उनले पञ्चायतकालीन अभ्यासको संज्ञा दिए। पत्रकारलाई पक्राउ गरेर समग्र प्रेसलाई तर्साउने प्रयास भएको आरोप लगाउँदै उनले सरकारको यस्तो कार्यशैलीले लोकतन्त्र नै जोखिममा पर्ने चेतावनी दिए। उनले सुवेदीको बिना सर्त रिहाइको माग समेत गरेका छन्।
