जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि कडा आलोचना गरेकी छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले अब रास्वपाले सुशासनको नारा नलगाउन आग्रह गरेकी हुन्।
रास्वपा नेतृत्वको सरकारको कार्यशैलीबाट ‘पञ्चायती गन्ध’ आइरहेको उनको आरोप छ। पार्टीका कार्यकर्ताले मिडिया हाउसअगाडि गाडी तेर्स्याउने र मिडिया हाउसभित्रै प्रवेश गरेर पत्रकारलाई तर्साउने जस्ता घटना भइरहेको भन्दै उनले आपत्ति जनाएकी छिन्।
शुक्रबार विभिन्न मिडिया हाउसबाट पत्रकार पक्राउ परेपछि बमले प्रेस स्वतन्त्रता र उत्तरदायित्वमाथि प्रश्न उठाएकी हुन्। मिडियामाथि भइरहेको हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् कि सरकारको यस्तो व्यवहारले सुशासनको नारा नै अर्थहीन बन्दै गएको छ। पत्रकारमाथिको दबाब र मिडिया हाउसमा भएको हस्तक्षेपप्रति उनले कडा असन्तुष्टि व्यक्त गरेकी छन्।
