म्याग्दी — असोजको भारी वर्षासँगै आएको पहिरोले थुनिएको पाउद्वार–खोप्रा पदमार्ग स्थानीयवासीको सामूहिक श्रमदानपछि पुनः सञ्चालनमा आएको छ। अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार गाउँबाट खोप्रातर्फ जाने बाटोको पाउद्वार–हिलडाँडा–लरेनी खण्डमा पहिरो खसेर आवतजावत ठप्प भएको थियो।
गाउँका बासिन्दाले पहिरो पन्छाएर र केही ठाउँमा नयाँ बाटो बनाएर पदमार्ग खुलाएका हुन्। पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार पदमार्ग खुलाउनुका साथै बिजुली र खानेपानीका क्षतिग्रस्त संरचना मर्मत गर्ने काम पनि भइरहेको छ। गाउँका दुई सय घरपरिवार करिब एक महिनादेखि श्रमदान अभियानमा सहभागी छन्।
स्थानीय प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर बाटो खुलाइएको बताइन्। पदमार्ग खुलेपछि पर्यटकसँगै घाँसदाउरा र गोठ जानुपर्ने स्थानीयलाई समेत सहज भएको छ।
समुद्र सतहदेखि तीन हजार पाँच सय ६० मिटर उचाइमा रहेको खोप्रा अन्नपूर्ण चक्रीय पदमार्गभित्र पर्ने नयाँ पर्यटकीय गन्तव्य हो। यहाँबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको दृश्य हेर्न सकिन्छ। अर्नब चक्रवातका कारण पछिल्ला एक–दुई दिन पर्यटक आगमन केही घटे पनि अहिले पुरानै लयमा फर्किएको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताए।
घोडेपानी, घान्द्रुक, बयली, ढाडखर्क र नारच्याङ लेकगाउँ हुँदै खोप्रा पुग्ने पर्यटक चार हजार छ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी–पाउद्वार हुँदै पोखरेबगर पुग्छन्। हिलडाँडाका होटल व्यवसायी जसे पुनका अनुसार बाटो अवरुद्ध भए पनि खोप्रालगायत पर्यटकीय स्थल सुरक्षित छन् र भ्रमण सहज छ। असोज–कात्तिक र चैत–वैशाख यो पदमार्गको मुख्य याम हो।
