काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित नाम भुवन केसी एक दशकको अन्तरालपछि पुनः निर्देशकको भूमिकामा देखिने भएका छन्। अभिनेता, निर्माता र निर्देशकका रूपमा लामो समयदेखि सक्रिय केसीले यसपटक आफ्नै नयाँ चलचित्र ‘बाटुलो जुन’मार्फत निर्देशनमा फर्किने घोषणा गरेका हुन्।
केसीले यसअघि वि.सं. २०७२ मा ‘ड्रिम्स’ निर्देशन गरेका थिए, जुन व्यावसायिक रूपमा सफल सावित भएको थियो। त्यसयता उनी निर्देशनबाट टाढा रहे। आफूले खोजेको नयाँ धार भेट्टाउन समय लागेकाले लामो समय निर्देशन नगरेको केसीले बताएका छन्। उनका अनुसार ‘बाटुलो जुन’को कथावस्तु र प्रस्तुतिमा त्यही नयाँ धार झल्किनेछ। चलचित्रको ट्रेलर हेर्दा दर्शकले केही संकेत पाउने र फिल्म हेर्दा अचम्ममा पर्ने उनको दाबी छ।
आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने ‘बाटुलो जुन’मा केसीकै छोरा अनमोल केसी मुख्य भूमिकामा छन्।
चार दशकभन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा सक्रिय केसीले अभिनेताका रूपमा ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’ जस्ता नेपालमा सिल्भर जुब्ली मनाएका फिल्म दिएका छन्। ‘करोडपति’, ‘तृष्णा’ र ‘बादलपारी’ पनि उनका चर्चित फिल्म हुन्। निर्माताका रूपमा उनले ‘सपना’, ‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’ र ‘क्याप्टेन’ बनाएका छन्।
गाउँले परिवेशका कथा र नायक केन्द्रित फिल्मको प्रभाव रहेको बेला आधुनिक सहरिया कथामा आधारित ‘करोडपति’ बनाएपछि उनको आलोचना पनि भएको थियो। तर त्यो फिल्मले बक्स अफिसमा सय दिन मनाएको थियो र उनलाई आर्थिक सफलता दिलाएको थियो। अब ‘बाटुलो जुन’ले केसीको सफल विरासतलाई निरन्तरता दिन्छ वा दिँदैन, त्यो भने हेर्न बाँकी छ।
