नेपाली यू–१९ क्रिकेट टोलीको एसीसी यू–१९ एसिया कपको यात्रा समूह चरणमै टुंगिएको छ। समूहको अन्तिम खेल खेल्न बाँकी रहँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
आइतबार पाकिस्तानले भारतलाई हराएपछि नेपालको बाहिरिने निश्चित भएको थियो। पाकिस्तानले लगातार दुई खेल जितेर चार अंक बनाएको छ। भारत र यूएईको समान दुई अंक छ।
नेपालले प्रतियोगिताको सुरुआतमै लगातार दुई हार बेहोरेको थियो। पहिलो खेलमा शुक्रबार भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा आइतबार यूएईसँग पनि पराजित भयो। त्यसअघि पाकिस्तानले यूएईलाई हराएको थियो भने भारतले नेपाललाई हराएको थियो।
समूह चरणमा नेपालको अब पाकिस्तानसँग एउटा खेल बाँकी छ। त्यस्तै, भारत र यूएईबीच पनि खेल हुनेछ। नेपालले अन्तिम खेल जितेमा पनि उसको अधिकतम दुई अंक मात्र हुनेछ।
भारत र यूएईबीचको खेलको नतिजा जस्तो आए पनि कम्तीमा एउटा टोली चार अंकमा पुग्ने भएकाले नेपाल शीर्ष दुईमा पुग्न सक्ने छैन। खेल नतिजाविहीन भएमा पनि दुवै टोलीको तीन–तीन अंक हुनेछ। यसरी अन्तिम खेलअघि नै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको हो।
अब नेपालका लागि अन्तिम खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। युवा टोलीले पाकिस्तानविरुद्ध जित निकालेर प्रतियोगिता सकारात्मक रूपमा टुंग्याउने प्रयास गर्नेछ।
