तराई मधेसमा विवाह र चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविका चलाउँदै आएको मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ। धेरै परिश्रम गर्नुपर्ने तर आम्दानी कम हुने र बिक्री मौसमी मात्र हुने भएकाले परिवारको खर्च धान्न गाह्रो हुँदै गएको समुदायका अगुवाहरू बताउँछन्।
तिरहुत गाउँपालिका–३ का ७० वर्षीय भजु मरिकका अनुसार विवाह र चाडपर्वको बेलामा ठिकै आम्दानी भए पनि अन्य समयमा दुई छाक टार्नसमेत कठिन हुन्छ। एउटा बाँस किन्न दुई सयदेखि तीन सय रुपैयाँसम्म खर्च हुन्छ। दिनभरिमा एउटा बाँसबाट तीनवटा सामग्री बनाउँदा एक हजार रुपैयाँसम्म आम्दानी हुने भए पनि खर्च कटाउँदा सिजनमा दैनिक सात सय रुपैयाँभन्दा बढी बचत हुँदैन।
उनका छोराहरूले यही पेसाबाट जसोतसो गुजारा गरिरहेका छन्, तर मेहनत धेरै र कमाइ कम हुने भएकाले नातिहरू भने यो पेसा छाडेर अन्य कामतिर लाग्न थालेका छन्। समुदायभित्रको क्षेत्रगत बिक्री नियमले पनि समस्या थपेको छ। आफ्नो क्षेत्रबाहेक अन्यत्र गएर सामग्री बेच्न नपाइने नियमले बजार सीमित भएको भजुको गुनासो छ।
राजविराज नगरपालिका–१३ की रिना मरिक पनि यही समस्याबाट गुज्रिरहेकी छिन्। श्रीमान् अपाङ्गताका कारण काम गर्न नसक्ने भएकाले परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ। सिजनबाहेकका समयमा अन्य काम गरेर जीविका चलाउनुपर्ने बाध्यता रहेको उनले बताइन्। जिल्लाका दलित अभियन्ता युक्ति मरिकका अनुसार सिजनबाहेक आम्दानीको स्रोत नहुँदा समुदायका मानिस पुर्ख्यौली पेसाबाट विस्थापित हुने अवस्थामा पुगेका छन्। बाँस व्यवसायलाई दिगो बनाउन बजारको पहुँच विस्तार, व्यावसायिक प्रवर्द्धन र आर्थिक सशक्तीकरणमा सरकारले ध्यान दिनुपर्ने समुदायको माग छ।
