अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको एउटा विद्यालयमा पुस्तकालयका लागि आएको अनुदान व्यक्तिगत प्रयोजनमा लगाएको भन्दै चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। कुशे गाउँपालिका–२ मा रहेको श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/०७४ सम्म पुस्तकालयका लागि दिएको रकम विद्यालयका पदाधिकारी र कर्मचारीले सापटीका नाममा लिएका थिए। अनुसन्धानमा उक्त रकम फिर्ता नगरी आपसी मिलेमतोमा बाँडिएको देखिएको आयोगले जनाएको छ। यसरी १७ लाख ४१ हजार ४४६ रुपैयाँ अपचलन भएको विज्ञप्तिमा उल्लेख छ।
मुद्दामा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हरिचन्द्र जैसी, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंहविरुद्ध जनही सोही रकम बिगो कायम गरिएको छ। समितिका तत्कालीन सदस्य जनकबहादुर नेपालीविरुद्ध भने एक लाख रुपैयाँ बिगो कायम गरी आरोपपत्र पेस गरिएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसुरमा दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय, बिगोबमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न माग गरेको छ। शैक्षिक प्रयोजनका लागि प्राप्त रकम व्यक्तिगत रूपमा प्रयोग भएर सरकारी सम्पत्तिमा क्षति पुगेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्।
