अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य धेरै बढे पनि सरकारले उपभोक्तालाई सस्तोमा इन्धन उपलब्ध गराइरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताएका छन्।
शनिबार महोत्तरीको बर्दिबासमा पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभा उद्घाटन गर्दै उनले निगमले पेट्रोल र डिजेल बिक्रीमा दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोरेको जानकारी दिए। जनतालाई सहज बनाउन सरकारको समन्वयमा घाटा सहेर पनि यस्तो निर्णय गरिएको उनको भनाइ थियो।
खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सर्लाहीमा ग्यास डिपो निर्माण भइरहेको उनले बताए। सर्लाही र मोतीहारीबाट पाइपलाइन विस्तार गर्ने योजना राष्ट्रिय प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे।
कार्यक्रममा एसोसिएसनका राष्ट्रिय अध्यक्ष विश्वप्रसाद अर्यालले व्यवसायीको कमिसन बढाउनुपर्ने माग गरे। लागतअनुसार प्रतिफल नपाएको उनको गुनासो थियो। निवर्तमान अध्यक्ष लिलेन्द्र प्रधानले कम सेवा शुल्कमा काम गरिरहेका व्यवसायीलाई पारदर्शी र विश्वसनीय बनाउनुपर्ने बताए।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले व्यवसायीहरूलाई निष्ठा र जिम्मेवारीका साथ काम गर्न आग्रह गरे। ढुवानी व्यवसायी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहले महेन्द्रनगर डिपोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै पेट्रोलियम व्यवसायीको कमिसन न्यून रहेको उल्लेख गरे। साधारणसभा एसोसिएसन महोत्तरीका अध्यक्ष राजिव प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो।
