जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको मापन ६ म्याग्निच्युड रहेको जनाएको छ। भूकम्पको केन्द्रबिन्दु प्रान्तको राजधानी सु सहरबाट करिब एक सय १० किलोमिटर दक्षिणतर्फ समुद्रमुनि रहेको थियो।
केन्द्रबिन्दु समुद्रको सतहभन्दा तीन सय ५२ किलोमिटर गहिराइमा थियो। साढे दुई लाखभन्दा बढी मानिस बसोबास गर्ने सु सहरनजिकै गएको यो भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै विवरण सार्वजनिक भएको छैन।
मिए प्रान्त जापानको मुख्य टापु होन्सुको मध्य भागमा पर्छ र सु सहर प्रान्तको प्रशासनिक केन्द्र हो। तटीय क्षेत्रनजिकै केन्द्रबिन्दु रहेकाले भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस भएको हुन सक्ने बताइएको छ।
युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरको वेबसाइटमा स्थानीय बासिन्दाले धक्का निकैबेरसम्म महसुस भएको बताएका छन्। उनीहरूका अनुसार सुरुमा हल्का कम्पन महसुस भयो र बिस्तारै त्यो झन् तीव्र हुँदै गयो। जापान भूकम्पीय दृष्टिले विश्वकै संवेदनशील देशमध्ये एक हो। त्यहाँका सम्बन्धित निकायले अवस्थाबारे निगरानी गरिरहेका छन्।
