जनकपुरधाम — दीपावली र छठ नजिकिएसँगै जनकनन्दनी गाउँपालिका–४, खजुरीका कुमाल समुदायको दैनिकी फेरिएको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म उनीहरू माटो मुछ्न र चक्र घुमाउनमै व्यस्त छन्। दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार र मट्का बनाउने काम अहिले चरममा पुगेको छ।
चाडपर्वको रौनकसँगै खजुरीका घरआँगनमा माटाका सामग्री बन्दै गरेको हेर्न आउनेहरूको चहलपहल पनि बढेको छ। वर्षभरि थन्किएर बसेको पेसाबाट यसै बेला केही आम्दानी गर्ने आशा उनीहरूमा पलाएको छ।
स्थानीय प्रीतम पण्डितका अनुसार माटाका भाँडाको बिक्री वर्षभरि नै सुस्त रहन्छ र चाडपर्वको समयमा मात्र बजार चलायमान हुन्छ। त्यसैले यतिबेला पाला बनाउने काममा सबै जुटेका छन्।
स्थानीय सुन्दर पण्डितका लागि माटो केवल कच्चा पदार्थ मात्र होइन। पुस्तौँदेखि सर्दै आएको सीप, संस्कृति र पहिचानको आधारका रूपमा उनी यस पेसालाई हेर्छन्। परिवारको जीविका र पुख्र्यौली पेसाको निरन्तरता यसैसँग जोडिएको उनको भनाइ छ।
दसैँ सकिएलगत्तै भाँडा बनाउन थालेका अयोधि पण्डितका अनुसार दसैँदेखि छठसम्मको अवधिमा खर्च कटाएर एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। राम्रो बिक्री हुने भएकाले अरू काम थाती राखेर उनी यसैमा लागेका छन्।
तर चाडपर्वको चमकबाहिर यो पेसाबाट वर्षभरि परिवार धान्न सहज छैन। समुदायका अगुवा रामनारायण पण्डितका अनुसार प्लास्टिक, स्टिल र आल्मुनियमका सामग्रीले बजार कब्जा गर्दै जाँदा परम्परागत भाँडाकुँडाको प्रयोग घट्दो छ। कुनै समय हरेक घरमा घैँटो, हाँडी, कलश र दियो अनिवार्यजस्तै मानिन्थ्यो, तर अहिले ती स्थान आधुनिक सामग्रीले लिन थालेका छन्।
पेसा जोगाउन र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक रहेको कुमाल समुदायको भनाइ छ।
