हेटौँडा । बागमती प्रदेश सरकारले लेखा समूहका २४८ जना कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको कात्तिक १३ गतेको प्रदेश सचिवस्तरीय निर्णयबाट वरिष्ठ लेखा अधिकृतदेखि सह–लेखापालसम्मका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रदेश मातहतका मन्त्रालय, निर्देशनालय, डिभिजन कार्यालय, अस्पताल, यातायात व्यवस्था कार्यालय, आयोजना तथा विभिन्न एकाइमा कार्यरत लेखा कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । आर्थिक प्रशासनलाई थप चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले ठूलो सङ्ख्यामा कर्मचारीको जिम्मेवारी बदलिएको हो ।
मन्त्रालयका अनुसार वरिष्ठ लेखा अधिकृत तथा लेखा अधिकृतस्तरका ४८ जनाको सरुवा भएको छ । यातायात व्यवस्था कार्यालय गुर्जुधाराका लेखा अधिकृत सौमेन्द्र सापकोटालाई भक्तपुर अस्पताल, कृषि विकास निर्देशनालय मकवानपुरकी लेखा अधिकृत रमा कार्कीलाई पूर्वाधार विकास कार्यालय ललितपुर, प्रदेश लेखा नियन्त्रक कार्यालय मकवानपुरकी लेखा अधिकृत सुष्मा पुडासैनीलाई पूर्वाधार निर्देशनालय मकवानपुर र प्रकाश खड्कालाई उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय ललितपुरमा पठाइएको छ ।
त्यसैगरी सहायक लेखा अधिकृत, लेखापाल र सह–लेखापाल गरी २०० जनाको पनि सरुवा गरिएको छ । प्रदेश लेखा इकाई कार्यालय काठमाडौँका लेखापाल खिमबहादुर खड्कालाई उपत्यका खानेपानी सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुर, सञ्चार रजिस्ट्रार कार्यालय मकवानपुरका लेखापाल सुदिप बमलाई जनस्वास्थ्य कार्यालय भक्तपुर र पूर्वाधार निर्देशनालय मकवानपुरका सहायक लेखा अधिकृत राजु खड्कालाई प्रदेश लेखा इकाई कार्यालय काठमाडौँमा पदस्थापन गरिएको छ ।
