चितवनको माडीमा नयाँ जातको धानले उत्पादन नदिएपछि किसान समस्यामा परेका छन्। गत वर्षसम्म राम्रो धान फल्ने खेतमा यस वर्ष रोपाइँदेखि नै रोग देखिनु र पाक्ने बेलामा खोक्रा बाला मात्रै भेटिनुले किसान चिन्तित बनेका हुन्।
माडी नगरपालिका–७, ६ र ५ लगायत क्षेत्रका किसानले एग्रोभेटबाट बीउ किनेर लगाएको बायोसीड ३०१ जातको धानमा समस्या देखिएको हो। बालीमा मरुवा र खैरो थोप्ले रोग देखिएको थियो भने बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नलागी टाटला मात्रै रहने समस्या देखियो।
नगरपालिका कृषि शाखाका प्रमुख सुरेश सिँखडाका अनुसार रोग नियन्त्रणका लागि विषादी प्रयोग गरिए पनि समस्या नियन्त्रण हुन सकेन। पछि गरिएको स्थलगत अनुगमनमा घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक मात्रामा देखिएको थियो।
स्थानीय एग्रोभेटका अनुसार माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार किलो बीउ बिक्री भएको र करिब १०० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको विवरणअनुसार उक्त धान १२९ दिनमा पाक्ने उल्लेख छ। असार १५ देखि असार मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म धेरै खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको छ।
माडी–७ कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए। यस वर्ष भने उनको खेतमा बाला नै राम्रोसँग लागेन। माडी–६ कल्याणपुरकी सावित्री चापागाईंको करिब १६ कठ्ठा खेतबाट दुई–चार बोरामात्रै उत्पादन भएको छ, त्यो पनि खानयोग्य अवस्थामा नरहेको उनले बताइन्।
कृषि शाखाले समस्याबारे कृषि विकास कार्यालय भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराएको छ। केन्द्रबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भइसकेको छ भने किसानबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ। बीउ कम्पनीका प्रतिनिधिलाई बोलाएर क्षति सम्बोधनबारे छलफल भइरहेको कृषि शाखाले जनाएको छ।
