नेपाली कांग्रेसभित्र एकता कायम राख्नुपर्ने माग उठेको छ। देउवा पक्षका केन्द्रीय संयोजक डा. शशाङ्क कोइरालाले पार्टी एकताबद्ध नभए कांग्रेस कमजोर हुने चेतावनी दिएका छन्।
कास्की जिल्ला अधिवेशनलाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति भएको बताए। कसैले पनि कांग्रेसलाई हराउन नसक्ने तर एकता टुट्यो भने पार्टीको अवस्था बिग्रने उनको भनाइ थियो।
कोइरालाले चुनावअघि कुनै पनि दलसँग गठबन्धन गर्न नहुने धारणा राखे। गठबन्धनका कारण पार्टीले दीर्घकालमा क्षति व्यहोर्दै आएको भन्दै उनले चुनावमा एक्लै लड्नुपर्ने बताए। चुनावपछि हुने गठबन्धन भने फरक विषय भएको उनको तर्क छ। एक पटक हारिए पनि अर्को पटक जित्न सकिने उनले बताए।
पार्टी सभापतिको अधिकार र संरचना बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए। सभापतिलाई पर्याप्त अधिकार दिएको भए महामन्त्री गगन थापाले पार्टी फुटाउन नसक्ने उनको दाबी थियो। उनले सभापतिका लागि मात्रै चुनाव हुनुपर्ने र सभापति बनेपछि उनले आफ्नो टिम छान्न पाउनुपर्ने प्रस्तावसमेत राखे।
उनको भनाइ थियो, सभापति बनेपछि पार्टी उनकै हातमा हुनुपर्छ र उनको निर्देशन मान्नुपर्छ। गगन थापातर्फ संकेत गर्दै उनले पार्टी फोडेर हिँड्ने प्रवृत्तिप्रति प्रश्न उठाए।
