विराटनगर — कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन्। त्यसक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार उनीसँग बिदाइ भेटघाट गरेका छन्।
खापुङले विसं २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उनी यही कात्तिक २४ गते कार्यकाल पूरा गरेर बिदा हुन लागेका हुन्।
भेटघाटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिका लागि खापुङले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए। प्रदेशको विकासका विविध विषयमा पनि उनीहरूबीच कुराकानी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनकाबीच पनि प्रदेशमा विकास र स्थायित्व अघि बढाउने प्रयास भइरहेको बताए। संघीयता कार्यान्वयनपछि पूरा पाँच वर्ष सेवा गरेर बिदा हुन लागेका खापुङप्रति उनले हार्दिक आभार व्यक्त गरे।
अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवस्थित बनाउन खापुङले खेलेको भूमिका स्मरणीय रहने मुख्यमन्त्री कार्कीले बताए। भेटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका थिए।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने व्यवस्था छ।
